अस्ताए लक्ष्मण घले,राईफल समातेनन् वरु लि भाडी घोटे

तीन दशक देखि नारायणगढको मिलनरोडमा सुनचाँदी कर्म गर्दै आइरहेका लक्ष्मण घलेले मंसीर २८ गते यो धर्तिमा अन्तिम श्वास फेरे । कलेजोको संक्रमण र लामो समयपछिको उपचारपछि पनि सम्भव नभएपछि उहाँको निधन भएको हो । घलेको देवघाटमा दाहासंस्कार समेत गरिएको छ । तमु धिं सुनचाँदी पसलको व्राण्डलाई स्थापित गराउनमात्र नभई गुरुङ समुदायको तर्फबाट सुनचाँदीको क्षेत्रको विकासमा योगदान दिने घले सम्भवत नेपालमा एक मात्र व्यक्ति हुन सक्छन् ।

पुराना सुन व्यवसायी त्यसमा पनि गैर सुनचाँदी समुदायका क्षेत्रबाट चितवनमै पुरानो व्यवसायीको रुपमा कहलिएका घलेको निधनले चितवनका सुनचाँदी व्यवसायी तथा शुभेच्छुकहरुको आँखा रसाए । वि.स.२०१७ साल असोजमा बुबा भारतीय सेनामै रहदा कोलकोत्तामा जन्मीएका लक्ष्मण घलेको पुर्खौली घर भने धादिङ र गोर्खाको सिमा आरुघाटमा पर्दछ ।

चितवन सुनचाँदी व्यवसायी संघले घलेको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक दिन जिल्लाभरको पसल बन्द गरेर शोक प्रकट ग¥यो ।

खासगरी चितवनमा गण्डक क्षेत्रबाट बसाई सरी आएका सुनार समुदायहरुको सुनचाँदी पसलहरुको वर्चश्व रहदै आएको छ । यसैगरी केही शाक्य समुदायले पनि सुनचाँदी व्यवसायलाई प्रतिष्ठितरुपमा जमाएका छन् । सुनार र शाक्य समुदायको वीचमा सुनचाँदी पेशामा मंगोलियन समुदायका लक्ष्मण घले अर्को छुट्टै फरक पहिचान बोकेका व्यक्ति थिए । पुर्खौली पेशा सेना भएता पनि घलेले राईफल समातेनन् तर लि भाडी घोटेर नेपाली गहनाको सान बढाउन लागे ।

लक्ष्मण घलेको पुर्खौली परिवार सेनाको पेशामा रहेको थियो । भारतीय सेनामा काम गर्ने उनको पिताका जुम्ल्याहा छोरा मध्ये लक्ष्मण एक हुन् । दाजु रामु घलेको प्रेरणाबाट उनी सुनचाँदी पेशामा लागेको चितवनका पुराना व्यवसायीहरु बताउछन् । लक्ष्मणका दाजु रामु घलेले ४० वर्ष अघि नारायणगढका पुराना प्रतिष्ठीत व्यवसायी बाबुकाजी शाक्यको घरमा कालिगढी कार्य गर्दर्थे । पछि दाजुबाट कालिगढी सिक्दै लक्ष्मणले व्यवसायिकरुपमा यो पेशालाई अंगालेको बताइन्छ । दिंवगत घलेका श्रीमती र दुई छोरा रहेका छन् । घलेको कान्छो छोराले अहिले पिताले देखाएको पेशाको बाटोलाई अघि बढाईरहेका छन् ।

चितवन सुनचाँदी व्यवसायी संघका सचिव रविन्द्र पन्थीले मंगोलियन समुदायबाट भइकन पनि लक्ष्मण घलेले सुनपेशाको क्षेत्रमा पुराउनु भएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । कुनै जाति विशेष नभनीकन सिंगो सुनचाँदी पेशाको एकता र हकमा घलेले आवाज उठाउदै आइरहनुभएको व्यक्तिको रुपमा घलेलाई सम्झीनुपर्ने सचिव पन्थीले बताउनुभयो । व्यवसायिक एकताको भावना,इमान्दारीता,अनुशासनका कारणलेनै नारायणगढमा तमुँ धि सुनचाँदी पसलको व्राण्डलाई स्थापित बनाई सफल गराउनुभएको पन्थीको बुझाई छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष तथा चितवनका पूर्व अध्यक्ष विपिन रामुदामुले व्यवसायी लक्ष्मण घले ग्राहकहरुप्रति अत्यन्तै भिज्ने सरल हद्यको व्यक्ति भएको बताउनुभयो । ग्राहकसँग व्यवसायिक मात्र होइन परिवारको जस्तो सम्बन्ध राख्यो भने व्यवसाय दिगो हुन्छ भन्ने सन्देश उहाँबाट सिक्नुपर्ने रामुदामुको बुझाई छ । आफुहरु सानो छदाँ घले आफैले पसलको सिसा पुछ्ने देखि बडालकुडाल गर्न अग्रसर हुँदा पेशाप्रति उहाँको लगाम निकै रहेको रामुदामुले अनुभव सुनाउनुभयो । विगतमा उहाँको पसलबाट घर लैजान उठाएको सवै गहनाहरु चोरी हुँदा पनि विचलित नभई आफ्नो पेशालाई अगाडी बढाएको आफुलाई स्मरण भएको रामदामले सुनाउनुभयो ।

महासंघका उपाध्यक्ष तथा चितवनका पुराना व्यवसायी ज्ञानेन्द्रमान शाक्यले पनि घले कम बोल्ने तर सहि कुरा राख्ने व्यवसायी भएको बताउनुभयो । चितवनका पुराना व्यवसायी बाबुकाजी शाक्यकोमा निकै दुःखगरी कालिगढी सिकेर यस पेशामा लाग्ने व्यक्ति घले भएको बताउनुभयो । चितवनमा एक इमान्दार पंक्तीका व्यवसायी मध्ये घले एक भएको र उहाँको निधनले आफु निकै दुःखी भएको शाक्यले बताउनुभयो । गैर सुनचाँदी पेशाकर्मीको समुदायबाट भएपनि पेशा सिके जुन समुदायले पनि यो पेशालाई अघि बढाउन सक्दोरहेछ भन्ने पाठ घलेबाट सिक्नुपर्ने शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्