प्रदेश २ का सुनचाँदी व्यवसायीबाट एकता कायम राख्न आग्रह

काठमाडौं,पौष । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ अन्र्तगतका सुनचाँदी व्यवसायीहरुले समावेशीरुपमा मिलेर सद्भाव साटेर वसेको व्यवसायीहरुमा जातिय द्धन्द्ध नल्याउन अपिल गरेका छन् ।

यहाँका व्यवसायीहरु नेपाल सुनचाँदी व्यवसायी महासंघको छातामुनी सुनचाँदी पेशाको जातिको रुपमा एकिकृत भई वसीरहेको अवस्थामा फलानो जातिको कार्यक्रम भन्दै फुटको खेती नगर्न ती व्यवसायीहरुले आग्रह गरेका छन् । विश्वकर्मा सुनचाँदी व्यवसायी संजालका संयोजक अर्जून रसाईलीको टिम २ नम्बर प्रदेशमा कार्यक्रम लिएर प्रवेश गरेपछि त्यसठाउँका व्यवसायीहरुले सवै मिलेर वसेको व्यवसायीहरुका वीचमा फुट र द्धन्द्ध निम्तने भन्दैं चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष रामजी साहले विश्वकर्मा सुनचाँदी व्यवसायी संजालले एउटा जातिलाई मात्र समेटेर कार्यक्रम ल्याउदा विग्रह उत्पन्न हुने भन्दैं चिन्ता व्यक्त गर्नुभयो । सुनचाँदीमा सुनार समुदायको योगदानको आफुले सम्मान गर्ने तर अहिले एउटै मात्रै जातिलाई मात्र माथि उठाउने कम्पनी हो भन्दैं महासंघको जिम्मेवार मान्छेले कार्यक्रम लिएर हिड्नु उपयुक्त नभएको साहको भनाई छ । महासंघको छातामा एक ढिक्का भएर कुनै जातिविशेषमा मात्र केन्द्रित नभई कार्यक्रम ल्याउन सके सवैको अपनत्व र सम्मान हुने भन्दै व्यवसायीका वीचमा भावानात्मकरुपमा समेत विभाजन ल्याउने योजना राम्रो नहुने साहले बताउनुभयो । रौतहटमा महासंघकै छत्रछायाँमा सवै व्यवसायी एक भएकाले कुनै जाति विशेषको संजालमा लागेर विग्रहलाई मलजल नगर्न समेत उहाँले यस भेगका व्यवसायीहरुलाई सचेत गराउनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एंवम प्रदेश नम्बर २ का संयोजक शिवकुमार सर्राफले समेत २ नम्बर प्रदेशमा मिलेर वसेका व्यवसायीहरुको सद्भावलाई नविथोल्न आग्रह गर्नुभएको छ । जातियरुपमा विग्रह ल्याउने कुनै पनि कार्यक्रम आफुहरुलाई स्विकार्य नहुने सर्राफले बताउनुभयो । आफ्नो प्रदेशमा मारवाडी,सुनार,सर्राफ,मुस्लिम सवै व्यवसायीहरु महासंघको छातामा एक ढिक्का भएर वसेकाले एक जाति विशेषको कार्यक्रम भन्दैं फुटाउने कार्य नगर्न संजाललाई अनुरोध गर्नुभएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का सचिव प्रवेशकुमार सर्राफले समेत संजाललाई व्यवसायीहरुका वीचमा फाटो ल्याउने कार्यक्रम नगर्न सचेत गराईने बताउनुभयो । महासंघको एकतालाई खलल पुराउने हिसावबाट आफुहरुको आग्रहलाई वेवास्ता गरिए यसले गम्भिररुप लिने सर्राफले बताउनुभयो । सुनचाँदी व्यवसायी जातिगतरुपमा विभाजन हुनु दुर्भाग्य र व्यवसायी एकता कम्जोर हुने सर्राफको ठहर छ । प्रदेश दुईका व्यवसायीहरुलाई फुटाउने चेष्टा गरिए प्रतिरोध गरिने सर्राफले आभूषण बजार पत्रिकालाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्