महासंघको जस्तै समानान्तर जागरण कार्यक्रम संजालद्धारा बाँकेमा

Jagaran Vela Banke

नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशले शनिवार गरे जस्तै किसिमको समानान्तर कार्यक्रम विश्वकर्मा सुनचाँदी व्यवसायी संजालले बाँकेमा सम्पन्न गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले केन्द्रिय कार्यक्रम अनुरुप व्यवसायीको समस्या र समाधानको विषयमा सचेतना तथा जागरण कार्यक्रम आयोजना गर्दै आइरहेको छ । महासंघले शनिवार सुदुरपश्चिम प्रदेशमा व्यवसायी सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको अवस्थामा सोही प्रकृतिको समानान्तर कार्यक्रम संजालले बाँकेमा गरेको छ । विश्वकर्मा सुनचाँदी संजालको नाममा भइरहेको बाँकेको कार्यक्रमको व्यानर,शैली हेर्दा महासंघकै जस्तै समानान्तर कार्यक्रमको स्वरुप देखिएको छ ।

संजालको नेतृत्व गरीरहेका महासंघका उपाध्यक्ष समेत रहेका अर्जून रसाईलीले विश्वकर्मा संजाललाई कम्पनी भन्दै आइरहेता पनि बाँकेमा भएको कार्यक्रमको स्वरुप हेर्दा महासंघलाईनै काउन्टर एट्याक गर्ने ढंगबाट कार्यक्रमको ढाँचा तय गरिएको व्यवसायिक वृतमा वहस भएको छ । महासंघकै व्यानरमा सचेतना कार्यक्रम भइरहेको अवस्थामा महासंघका उपाध्यक्ष रसाईलीले महासंघको कार्यक्रममा सहभागी भएर सहयोग गर्नुपर्ने सट्टामा संजालको नाममा समानान्तर कार्यक्रम गर्ने र व्यवसायी फुटाउने कार्य भएको भन्दै महासंघमा पदाधिकारीहरुबाट पटक पटक स्पष्टीकरण लिने कार्य हुँदा पनि संजालले आफ्नो गतिविधिलाई सुधार गर्न नसकिरहेको महासंघका जिम्मेवार पदाधिकारीहरुले बताइरहेका छन् । संजालको नाममा भइरहेको गतिविधि देशभरको छाता संगठनको रुपमा रहेको महासंघलाई फुटाउने,व्यवसायीमा साम्प्रायिकताको नाममा विभाजन ल्याउने,व्यवसायिक सद्भाव खलल पुराउने,महासंघलाई कम्जोर बनाउने,चुनावी रणनीति अनुरुप व्यवसायलाई झन् कम्जोर बनाउने कार्य भएको भन्दैं महासंघका जिम्मेवार व्यक्तिहरुले विरोध गर्दै आइरहेका छन् । बाँकेमा कम्पनीको वारेमा जानकारी भन्दा पनि व्यवसायी जागरण कार्यक्रम भनेर महासंघकै केन्द्रिय कार्यक्रमको प्रकृतिको कार्यक्रम संजालले गर्दा महासंघलाई खुलेआम चुनौति दिएको प्रष्ट भएको भएको व्यवसायीहरुले बताएका छन् । एकैदिन सोही प्रकृतिको कार्यक्रम हुँदा कार्यक्रममा सहभागिताको लागि एकले अर्कोलाई कार्यक्रममा सहभागी हुन दबाब दिदा आफुहरु निकै अन्योलमा परेको समेत व्यवसायीहरुले बताएका छन् । संजालको कार्यक्रममा सहभागी नहुँदा साथी रिसाउने डर महासंघको कार्यक्रम सहभागी नहुँदा महासंघलाई अपमान गरेको ठहर हुने निकै धर्मसंकटमा परियो व्यवसायीहरुले आभूषण बजार पत्रिकालाई आफ्नो मर्म पोखेका छन् ।

पछिल्लो समय संजालले कम्पनीको उद्देश्य अनुरुप कामको थालनी पनि नगर्ने, संजालको कार्यक्रममा विभिन्न समुदायको व्यवसायीहरुलाई चर्को गालीगलौजमा उत्रिएर भाषण गर्ने लगायतका कार्यक्रम हुन थालेपछि संजालभित्रकै केही सक्रिय व्यक्तिहरु समेत निराश र निस्कृय बन्दै गइरहेको उनीहरुले दुखेसो गरेका छन् । देशभरका कालिगढहरुले भने आफुहरुको रोजीरोटी खोस्ने नयाँ प्रपन्च भन्दै यस अघिनै विरोध गर्दै आइरहेका छन् । काठमाडौंमा संजालले भेला गर्ने प्रयास गर्दा कालिगढहरुको विरोध र व्यवसायीको सहभागीता खासै नभएपछि काठमाडौंमा संगठन बनाउने कार्य वीचमै स्थगीत भएको बताइएको छ

। संजालको नेतृत्वले प्रधानमन्त्री केपी ओलीलाई भेट्ने प्रयास पनि असफल भएको बताइएको छ । व्यवसायी फुटाउने र द्धन्द सिर्जना गराउने कार्य भनेर व्यवसायीबाट गुनासो आएपछि संजाललाई प्रधानमन्त्री निवास बालुवाटार छिर्न समेत बन्देज भएको व्यवसायीहरुले बताएका छन् । बालुवाटार छिर्न नपाएपछि संजालभित्र पार्टीको वैसाखी टेक्नेहरु समेत यतिबेला प्रधानमन्त्रीको साथ नपाएको भन्दैं निराश र रुष्ट बनेका छन् । कम्पनीको मान्यतामा संजालले काम नगरी भाषण, वक्तत्ववाजी गर्ने,अविरमाला र खादा मात्र लगाउने कार्यले चुनावी रणनीतिको विषयमा व्यवसायीहरुले ठम्माई गरेको पुष्टी भएको बताउनथालेका छन् ।

प्रतिक्रिया दिनुहोस्