काठमाण्डौं सुनचाँदीको १६ औं साधारणसभामा नयाँ नारा तय

Gold & Silver dealers assotiation

काठमाडौं सुनचाँदी व्यवसायी संघले आफ्नो १६ औं साधारणसभाबाट “सुखी नेपाली हामी,हाम्रो समृद्ध नेपाल”त्यसैका लागि “ऐन कानून सहित,प्रवद्र्धित सुनचाँदी बजार” भन्ने नयाँ नारालाई जोडका साथ अघि सारेको छ ।

राजधानीमा शनिवार आयोजित १६ औं साधारणसभामा सरकारले सुनचाँदी,हीरा,जवाहरत व्यवसाय सम्बन्धी कानुन तथा मापदण्ड नल्याएको अवस्थामा व्यवसायलाई ऐन कानुन सहित व्यवस्थित बनाएर समृद्ध नेपालको अभियानमा हातेमालो गर्न नयाँ नारा अघि सारिएको नाराका परिकल्पनाकार तथा काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताउनुभयो । सो अवसरमा देशभरबाट ९ अर्व र काठमाडौं उपत्यकाबाट मात्रै राज्यलाई ८५ करोडको राजश्वको योगदान रहेकाले अव सरकारको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सुनचाँदी व्यवसायलाई औद्योगिकरण गरेर रोजगारीका साथै कलासंस्कृतिको विकास गर्न विलम्ब गर्न नहुनेमा व्यवसायीहरुले जोड दिएका छन् । नीति नियमको अभावमा व्यवसायमा अन्यौलता उत्पन्न भएकाले यस व्यवसायलाई फर्कन फुल्न राज्यले उचित नीति नियम बनाएर वातावरण बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीले कला संस्कृतिको विकास विना समृद्ध नेपालको परिकल्पना गर्न नसक्ने बताउनुभयो । मुलुकको विभिन्न भागमा रहेका सुनचाँदीका कलाकृति र मूर्तिहरुमा विशेष कालखण्डको राज्यको विशेष परिभाषाहरु लुकेकाले नयाँ पुस्ताले यस विषयमा खोज अनुसन्धान गरेर समाजको अगाडि ल्याउन आवश्यक रहेको बताउनुभयो ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले राज्यले प्राविधिक शिक्षाको विकास गरी रोजगारी सिर्जन ागर्न प्रदेशसभाले प्राविधिक शिक्षा ऐन पारित गरेको बताउनुभयो । कला र प्राविधिक शिक्षाको रुपमा सुनचाँदी पेशालाई समेटेर युवाहरुलाई रोजगारी सिर्जना गर्न राज्यको तर्फबाट सक्दो पहल गर्ने श्रेष्ठले बताउनुभयो ।
सो अवसरमा नेपाली कलासंस्कृतिलाई समेटिएको मौलिक गहनाहरुको फेशन सो समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्