सुनचाँदी व्यवसायको सुरक्षाप्रति प्रहरी प्रशासन मौनःरुपन्देही व्यवसायी

रुपन्देहीमा सुरक्षा प्रशासनलाई लज्जित बनाउने गरी पछिल्ला दिनहरुमा भइरहेको सुनपसल चोरीलाई लिएर प्रहरी प्रशासन मौन बसेको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रहरीको आँखाकै अगाडि पछिल्ला चार महिनामा सुनचाँदी पसलमा दुई ठुला  चोरी भएको तर प्रहरी प्रशासन आँखा चिम्लीएर बसेको भन्दैं व्यवसायीहरुले प्रहरीप्रतिको भरोसा दिनप्रतिदिन मर्दै गईरहेको बताएका छन् ।
रुपन्देही सुनचाँदी व्यवसायी संघ र गुणस्तर तथा नापतौल विभाग बुटवल सहित भइरहेको सचेतना तथा अन्तरक्रिया कार्यक्रमको शनिवार आयोजित समापन कार्यक्रममा बोल्दै व्यवसायीरुले शान्ति सुरक्षामा प्रहरीले निभाईरहेको भूमिका प्रति शंका समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष तथा प्रदेश ५ का संयोजक प्रेमकुमार सेन्चुरीले समयसापेक्ष परिवर्तन भएर व्यवसाय गर्नु पर्ने बताउनुभयो । बाउ बाजेको पालाबाट तोला,मासा,लालमा कारोवार गरिएको भएपनि अव समय अनुसार ग्राममा कारोवार गर्न व्यवसायीलाई सुझाव दिनुभयो । उहाँले यस किसिमको सचेतना कार्यक्रमले व्यवसायीलाई फाइदा पुग्ने बताउनुभयो । राज्यले पूर्वाधार तयार नगरी व्यवसायीहरुलाई नीति नियम थोर्पदा भने व्यवसायीहरुलाई काम गर्न जटिल बन्दै गएको भने उहाँले बताउनुभयो ।
सो अवसरमा वक्ताहरुले सुनचाँदी वहुमुल्य धातुको व्यवसाय भएकाले अस्पष्ट नीति नियमका कारण राज्य र चोर दुवैको चेपुवामा व्यवसायीहरु परेको बताएका थिए ।

कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष सिताराम रसाईली,निर्वतमान अध्यक्ष विक्रम सुनार,सिद्धार्थनर सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष रामकिशन सेन्चुरी,सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका सचिव किस्मत विश्वकर्मा,आभूषण बजार पत्रिकाका निर्देशक रेशम लाम्गादे लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा गुणस्तर तथा नापतौल विभाग बुटवलका निर्देशक गणेशप्रसाद न्यौपाने र रुपन्देही सुनचाँदी व्यवसायी संघका सदस्य रेवन्त विश्वकर्माले नापतौल सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणी विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम.वी.विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम संघका सचिव किशोर विश्वकर्माले संचालन गर्नुभएको थियो । रुपन्देहीको विभिन्न संघ तथा शाखाहरुमा संचालित सचेतना तथा अन्तरक्रिया कार्यक्रम शनिवार समापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्