सवैलाई समेटेर कला व्यवसायी संघ बलियो बनाउछु ः केशर सेन्चुरी

नेपाल सुनचाँदी कला व्यवसायी संघको यहि मंसीर ७ गते सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा ८ औं केन्द्रिय अधिवेशनले केशर सेन्चुरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । अध्यक्ष चयनका लागि केही रस्साकस्सी भएता पनि अन्तिममा सहमतीमै सेन्चुरी नेतृत्वमा आउनुभएको हो । सवैलाई साथमा लिएर आफ्नै बलबुतोले काम गरौ भन्ने स्वभावका हुनुहुन्छ केशर सेन्चुरी । नडराई सिधा प्रष्ट विचार राख्ने स्वभावका केशर सेन्चुरीको जन्म माता ठूलीमाँया सेन्चुरी र पिता ढलकबहादुर सेन्चुरीको कोखबाट वि.स.२०३० साल असार ८ गते नुवाकोट हल्देकालिका हाल लिखु गाउँपालिका–१ मा भएको हो । अध्ययन र रोजगारीकै सिलसिलामा काठमाडौं झर्नुभएका केशर सेन्चुरी सुनचाँदी पेशामा कालिगढी पृष्ठभूमिबाटनै आउनुभएको हो । तीन भाई दुई वहिनी मध्ये सेन्चुरी परिवारको जेष्ठ सुपुत्र हुनुहुन्छ ।

सरस्वती क्याम्पसबाट आइएसम्मको अध्ययन गर्नुभएका उहाँले अब सवैको सहकार्य र एकतामा कला व्यवसायी संघलाई बलियो बनाएर लैजाने विचार राख्नुहुन्छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप ।

कला व्यवसायी संघको अध्यक्षमा चयन हुुनभएकोमा बधाई छ अनि तपाईलाई व्यवसायीहरुले किन रोजे होलान ? 

मलाई यस हाम्रो गौरवपूर्ण सुनचाँदी व्यवसायीहरुको संस्था नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्ष जस्तो गरिमामय पदमा चयन गर्नुहुने सवै व्यवसायी मित्रहरुलाई ह्रदयदेखि धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु । बधाईको लागि हाम्रो सुनचाँदी क्षेत्रको वारेमा जानकारी दिने पत्रिका आभूषण बजार पत्रिकालाई पनि धन्यवाद । म कला व्यवसायी संघको स्थापानाकालदेखिनै आवद्ध भएको सदस्य हुँ । अग्रजहरुले यस संस्थालाई अगाडि बढाउने क्रममा देखाउनुभएको बाटोमा मैले पनि हिड्ने अवसर पाए यस मानेमा पनि २०५६ सालदेखिनै यस संस्थाप्रति मेरो मायाँ र भरोसा यथोचित रहेको छ । यसमानेमा पनि यहि मंसीर ७ गते नेपाल सुनचाँदी कला व्यवसायी संघको १८ औ बार्षिक साधारण सभा तथा ८ औ केन्द्रीय अधिबेसनबाट सर्वसम्मतरुपमा मलाई अध्यक्षजस्तो गरिमामय पदमा यस संस्थाका सँग जोडिएका आम व्यवसायीहरुले चयन गरिदिनुभयो यसलाई म प्रतिको विश्वास र माँयाको रुपमा मैले लिएको छु ।

अध्यक्षमा सहमती कायम गर्न निकै रस्साकस्सी भयो भनिन्छ नी ? 

रस्साकस्सी भन्दा पनि सहमतीको लागि छलफल लम्बीएको मात्र हो । कुनै पनि संस्थामा छलफल र बहस हुन जरुरी छ । अध्यक्षको लागि घनश्याम रिजाल जीले पनि दाबेदारी प्रस्तुत नगर्नुभएको हैन । तर समयको आवश्यकतालाई मध्यनजर गर्दै उहाँले पनि मलाई सपोर्ट गर्नुभयो ।  हामी सवै कार्यसमिति सर्वसम्मतनै चयन गर्न सक्यौं यसले पनि हामीवीचको व्यवसायिक एकतालाई अझ बलियो रुपमा उजागार गरेको छ ।

तपाईको पहिलो काम के हुन्छ ? 

हामी सवैको चाहाना भनेकै व्यवसायिक हित र वृत्तिविकासनै हो । म अध्यक्ष हुँ तर पनि सवै पदाधिकारीको साथ र सहयोग विना संस्थागत काम अघि बढ्न सक्दैन । तसर्थ म अहिले यो गर्छु यसो गर्छु भन्दा पनि व्यवसायिक क्षेत्रमा आउने समस्यालाई कसरी जुध्न सकिन्छ यसमा सवैको सामुहिक विचार विमर्श राय सुझाव लिएर अघि बढ्छु । नेपाल सुनचाँदी कला व्यवसायी संघ सवै समुदायका व्यवसायीहरु आबद्ध हुुनु भएकाले अझ सवैलाई समेटेर संघलाई बलियो बनाउनेनै मेरो पहिलो काम हुनेछ । अर्को कुरा गुणस्तरीयताको लागि सरकारबाट मान्यताप्राप्त टन्ज मेशिनको लागि पनि हाम्रो गृहकार्य हुनेछ । टन्ज मेशिनको व्यवस्थापन गर्न सकेको खण्डमामा अझ उत्तम हुने हाम्रो ठहर रहेको छ ।

सुन वितरणमा पारदर्शीको मुद्धा बारम्बार उठ्ने गरेको छ यसलाई कसरी व्यवस्थित बनाउँदै हुनुहुन्छ ? 

नेपालल सुनचाँदी कला व्यवसायी संघमा अहिले काठमाडौं र देशभरका विभिन्न जिल्ला शाखामा गरी ९ सय भन्दा गहना व्यवसायी सदस्यको रुपमा आवद्ध भएका छन् । यि व्यवसायीहरुमा समानुपातिकरुपमा प्यान नम्बरको आधारमा सुनको न्यायोचित वितरण होस् भन्ने मेरो धेय रहेको छ । मैले पाएको जानकारी अनुसार कला व्यवसायी संघले महिनामा २८ केजी सुन पाइरहेको अवस्था छ । १८ केजी मासिकरुपमा जिल्ला वाहिरका हाम्रा संघहरुलाई वितरण गरिरहेका छौ । जुन अहिले उपलब्ध भइरहेको सुनको कोटा छ यो परिमाण सिजनको समयमा अझै अपर्याप्त रहेको छ । यद्यपी हामीलाई प्राप्त सुन समुचित पारदर्शी ढंगबाटनै वितरण भइरहेको छ अझ मेरो कार्यकालमा यसलाई व्यवस्थितरुपमा बाड्ने योजना बनाएर अघि बढ्नेछु ।

तपाईहरुले अहिले व्यवसायमा भोग्दै आइरहेको समस्यालाई कसरी दृष्टिूगत गरिरहनुभएको छ ? 

सुनचाँदीको स्पष्ट नीति नियम नहुनुनै व्यवसायीहरु मारमा पर्नुको प्रमुख कारण मध्ये एक हो । सानो परिमाणमा सुन उपलब्ध नहुँदा व्यवसायीहरुले ढुवानी र सुरक्षामा समेत जोखिमता मोल्दै आउनुपरेको छ । जिल्लाका सदस्यहरु सुन लिन काठमाडौं आउनुपर्दा बाटोमा उच्च जोखिम देखिन्छ यस्तो अवस्थामा वैंकहरुले सम्बन्धीत जिल्लामा सुन पुराईदिएको खण्डमा राहत हुने देखिन्छ ।

बजारमा त्रास फैलाउने उद्देश्यबाट गरिने अनुगमनले पनि व्यवसायीहरु मर्कामा परेका छन् । नीति नियम निर्माण गरिएको खण्डमा व्यवसायीहरु ढुक्क भएर व्यवसाय गर्ने वातावरण हुन जान्छ यस तर्फ राज्यले ध्यान दिन जरुरी छ ।

अन्त्यमा छुटेका केही कुरा ? 

 

मुलुकमा शान्ति सुरक्षा र व्यवसायिक वातावरण हुनुप¥यो । पछिल्ला समयमा झनै व्यवसायीहरुलाई हतोत्साहित बनाउने नीतिहरु आएका छन् । व्यवसायीमैत्री नीति हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । सवैभन्दा ठुलो व्यवसायिक एकतानै हो हामी व्यवसायी एक भएर जुटेको खण्डमा हाम्रो आवाज बलियो हुनेछ । जातिगतरुपमा विभाजन भएर कार्यक्रम लिएर हिड्नुभन्दा पनि सवैभन्दा पहिला व्यवसाय हाम्रो जात,व्यवसायिक सेवा हाम्रो धर्मको मूलमन्त्रमा हिड्न सक्नुप¥यो भन्ने मलाई लाग्छ  । व्यवसायी र कालिगढहरुको पनि नङ र मासुको सम्बन्ध रहेको छ । यो एकतामा पनि आँच आउनुहुँदैन । हामी एक हुन सकेको खण्डमा मात्र व्यवसायको भविष्य रहन्छ तसर्थ यसमा सवैले चिन्ता जाहेर गर्नुपर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस्