सुनचाँदी व्यवसाय भिसिटिएस मा आउनुपर्छ :राजश्व विभाग

आभूषण संवाददाता

काठमाडौं । सरकारले विना तयारी भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम लागु गरेको भन्दैं सुनचाँदी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतमा आएको राजश्व अनुसन्धान विभागले सुनचाँदी व्यवसायलाई समेत यो प्रणालीमा समेटिन अनुरोध गरेसँगै व्यवसायीहरुले भने कतै अनाहकमा फसाइने होकी भन्ने चिन्ता व्यक्त गरेका छन् । भिसिटिएस प्रणालीलाई कडाईका साथ पालना गर्न प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएसँगै सवै व्यवसायलाई समेटेर अघि बढीरहेको विभागले जनाएको छ ।

कुनै पनि सामान ढुवानी गर्दा यस विषयमा पुरा विवरण खुलाउनुपर्ने भिसिटिएसमा प्रावधान रहेको छ । चेकजाँचको क्रममा राजश्व नतिरीकन यदि मूल्यवान सामान भेटिएको खण्डमा विभागले कानुनी कारवाहीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताइएको छ । भिसिटिएसकै कारण व्यवसायीहरुलार्य इविलिङमा जानुपर्ने बाध्यता समेत सिर्जना हुन थालेको छ । थौरे पूँजीका म्यानुअलरुपमा काम गर्दै आइरहेका सुनचाँदी व्यवसायी अव कसरी काम गर्ने भन्नेमा फेरी अन्योलता सिर्जना भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले सरकारले विना तयारी हतार गरेर भिसिटिएस लागु गरेको बताउनुभयो । महासंघ भित्रपनि यस विषयमा छलफल हुने र आधिकारिक धारणा तय गरिने शाक्यले बताउनुभयो । इबिलिङ गर्ने ठूला पसलहरु भिसिटिएसमा गैहाले पनि परिवारका सदस्यहरु मिलेर गरेको साना–साना सुनचाँदी पसल जो म्यानुअल चलेका छन् उनीहरु तत्कालनै भिसिटिएसमा जोडिन कठिन हुने उपाध्यक्ष शाक्यको भनाई छ । भिसिटिएस लागुसँगै अव काठमाडौंका बैंकहरुबाट अन्य जिल्लाहरुमा सुनचाँदी खरिद गरेर लैजान जोखिम हुने उहाँको भनाई छ । सरकारले आवश्यक पूर्वाधार विनानै भिसिटिएस  लागु गरेको व्यवसायीहरुको भनाई छ ।

यता राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीले सुनचाँदी व्यवसायीहरुलाई पनि छिटो भन्दा छिटो भिसिटिएसमा समेटिन आग्रह गर्नुभएको छ । आभूषण बजार पत्रिकासँगको कुराकानीमा महानिर्देशक मैनालीले भिसिटिएसलाई कडाईका साथ लागु गरिएको बताउनुभयो । केही सुनचाँदी व्यवसायीहरु विभागमा कुराकानी गर्न आउनुभएको थियो मैले भिसिटिएसको दायरामा आउन हामीले भनिसकेकार्छौ मैनालीले भन्नुभयो । सुन उपत्यकाबाट वाहिर लैजादा होस् या तयारी गहना यस प्रणालीमा जोडिनुपर्ने उहाँको भनाई छ । भिसिटिएसले सुनचाँदी व्यवसायमा उत्पन्न हुने जोखिमलाई अझ सुरक्षा दिने मैनालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्