सगरमाथाबाट नेपाली मौलिक गहनाको विश्वभर प्रचार भयोःरमेश महर्जन

रमेश महर्जनलाई नेपाली गहना क्षेत्रको विकासको लागि एक डायनमिक व्यक्तिको रुपमा लिइन्छ । व्यक्तिगतरुपमा होस या व्यवसायिक संगठनबाट महर्जनले नेपालको गहना क्षेत्रको विकासको लागि केही न केही नयाँ काम गर्दै आइरहनुभएको छ । पछिल्लोपटक द माउन्ट एभरेष्ट फेशन रन वे मा आरवी डाइमण्डको तर्फबाट नेपालमा तयार भएका गहना र क्राउनहरु विश्वजगतमा प्रर्दशन भएपछि नेपाली मौलिक गहना कलाको चर्चा फेरी चुलीएको छ । प्रस्तुत छ यसै विषयमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष समेत रहनुभएका आरवी डाईमण्डका संचालक रमेश महर्जनसँग गरिएको कुराकानी । 

द माउन्ट एभरेष्ट फेशन रन वे सम्पन्न भएको छ यसको वारेमा बताइदिनुहोला ? 

यो फेशन रन वे नेपालमा सम्पन्न एक ऐतिहाँसिक कार्यक्रम हो । विश्वको सवैभन्दा अग्लो स्थान सगरमाथाबाट गरिएको फेशन शो आफैमा नयाँ रेकर्ड पनि हो । कासाले आयोजना गरेको यस कार्यक्रममा आरवी डाईमण्डले प्रस्तुतकर्ताको रुपमा भूमिका निर्वाह गर्ने मौका पायौं । सगरमाथा स्थित कालापत्थरमा भएको यो फेशन शोमा विश्वका चर्चित १५ जना मोडल र नेपालका ५ जना मोडल सहभागी थिए । खासगरी नेपालमा बनेका पश्मिनाको सामान र आरवी डाइमण्डले निर्माण गरेको रत्नपत्थर जडित क्राउन र नेपाली मौलिक गहनाहरु हामीले प्रस्तुत गर्ने मौका पायौं । नेपालको काइनाइटले विश्वजगतको ध्यान केन्द्रित भएको मैले महशुस गरेको छु । विश्वप्रशिद्ध यो फेशन सो सगरमाथाको ५६४४ मिटरको उचाईमा भएकाले पनि सवैभन्दा अग्लो स्थानमा भएकाले यसले गिनिजबुकमा समेत नाम उल्लेख गरेको छ । अर्को कुरा अमेरिकाको चर्चित एम टिभीबाट यसै फेशनको सम्पूर्ण ८ वटा श्रृंखला तयार पारिनेभएकाले नेपाली मौलिक कपडा र फेशनले विश्वस्तरमा प्रचार भएर भिजिट नेपाल २०२० लाई समेत प्रर्वद्धन गर्ने मैले विश्वास लिएको छु ।

सगरमाथाको उचाईमा गरिएको यो फेशन शो तपाईको अनुभवमा चाँही कस्तो भयो ? 

साच्चै यो फेशन रनवे मेरो लागि अविस्मरणीय क्षण भएको छ । विश्वकै अग्लो स्थानमा भएको यो फेशन रनवे सहभागी हुने टिमको  लागि मात्र होइन मेरो लागि पनि निकै ऐतिहाँसिक भयो । काठमाडौंबाट हेलिकोप्टर हुँदै कालापत्थरमा अवतरण गर्दा त्यहाँको माहोलनै छुट्टै रहेको थियो । मैले नाकमा अक्सीजन लगाइरहनुपर्ने अवस्था सिर्जना भयो,खोल्नै वित्तिकै गाहे भैहाल्ने । तर नेपाली मौलिक गहना र हामीले तयार पारेको क्राउनहरु सगरमाथाको सेताम्मे प्रकाशसँगै चम्कीदा निकै गौरवको अनुभूति भयो ।

यस किसिमको कार्यक्रमले नेपालको गहना बजारको विकासमा कस्तो टेवा पुग्छ ? 

हामीले यस किसिमको कार्यक्रमबाट विश्वबजारमा आफ्नो मार्केटलाई ध्यानाकर्षण गर्न सफल हुने मेरो अपेक्षा रहेको छ । सुनचाँदी व्यवसायिक क्षेत्रलाई विकास गर्न सकिएको खण्डमा अवको १० वर्ष भित्रमा वार्षिक दुई अर्व डलर बराबरको कारोवार गर्न सकिने हाम्रो विश्वास रहेको छ । अव नेपाली गहना बजारलाई अन्र्तराष्ट्रिय बजारसँग तुलना गरेर अघि बढ्नुको विकल्प छैन । अर्को कुरा यो कार्यक्रमले नेपालको रत्न पत्थरको सम्भावानाको वारेमा विश्व बजारको ध्यानआर्कषण हुने मैले विश्वास लिएको छु । म निकै आशावादी छु पछिल्लो समयमा सरकारले पनि नेपाली गहना बजारको कुरा सुनेको अनूभूति भएको छ । प्रधानमन्त्रीले पनि नेपालको रत्न पत्थरबाट विदेशी मुद्रा आर्जन गरेर आर्थिक विकास गर्न सकिन्छ भन्नेमा सकारात्मक हुनुहुन्छ । यो उहाँको ड्रिम प्रोजेक्ट पनि हो । पछिल्लो समय वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग हामीले समन्वय गरेर तयार पारेको प्रतिवेदनले पनि नेपालको सुनचाँदी रत्न पत्थर क्षेत्रको विकासको लागि धेरै आशाको किरणहरु जगाएको छ । हामी व्यवसायीहरु एक हुनुको विकल्प छैन । यदी हामी व्यवसायी एक भएर व्यवसायीको साझा समस्यालाई सुल्झाएर जाने हो भने प्रतिफल पनि सवैलेनै पाउने हो ।

प्रतिक्रिया दिनुहोस्