सुनचाँदी विद्यालय र चुनौति

काठमाडौं सुनचाँदी व्यवसायी संघले सुनचाँदी क्षेत्रको विकासलाई मध्यनजर गर्दै सुनचाँदीको सैद्धान्तिक तथा प्राविधिक ज्ञान सिकाउने उद्देश्यले सुनचाँदी विद्यालयको अवधारणा ल्याएको छ । घरेलु पेशाको रुपमा सिमित रहदै आइरहेको सुनचाँदी पेशालाई अव वृहद् ढंगबाट विकास गर्नुपर्छ भन्ने मान्यतालाई आत्मासाथ गर्दै गरिएको यो कामको सुरुवातलाई सकारात्मकरुपमानै लिनुपर्ने हुन्छ । सुनचाँदी क्षेत्रमा संघको भूमिका सुन सिफारिस गर्ने र साना तिनै विषयमा अलमल हुने परिपाटीलाई चिर्दै काठमाडौं सुनचाँदी व्यवसायी संघले सुरुवात गरेको यो प्रयासले सुनचाँदी बजारमा फेरी नयाँ उर्जा थपेको छ ।

विहिवारमात्रै कागोसिडाले काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीको बाहुलीबाट सुनचाँदी विद्यालयको योजनालाई पूर्णता दिन भवनको शिलन्यास सम्पन्न गरेको छ । संघका अनुसार अव बन्ने भवनमा सुनचाँदी सम्बन्धी सम्पूर्ण तालिम प्रदान गर्नुका साथै रोजगारीको अवसर समेत प्रदान गरिनेछ । नाफामुखी भन्दा पनि सुनचाँदी क्षेत्रको विकास र प्रवद्र्धनका खातीर कार्यक्रमलाई अघि बढाइने संघले जनाएको छ । गहना बनाउने तालिम,डिजाईन तालिम,सुनचाँदी जाँचकी,हरहिसाव,बजार व्यवस्थापन लगायत सम्पूर्ण तालिम एउटै छानामुनी गरिने ढंगको गुरुयोजना संघले अघि सारेको छ । सुनचाँदी स्कुललाई पुरा गराउन विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी शेयर संकलन समेत गरिदैछ । तालिम केन्द्रलाई काठमाडौं महानगरपालिका समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ ।

सुनचाँदी क्षेत्र आफैमा एक विशिष्ट क्षेत्र हो । अहिलेसम्म जे छ ठिकै छ भन्ने हिसावबाट चलेको सुनचाँदी बजारलाई अलि फरक ढंगबाट जानुपर्छ भन्ने हिसावबाट काडोसिडाले गरेको कार्य सहनिय रहेको छ । अव मूलरुपमा यसलाई कसरी सफलताका साथ सम्पन्न गर्ने भन्ने चुनौतिभने बाँकी नै रहेको  छ । सवैभन्दा पहिला यो कार्यमा सम्पूर्ण सुनचाँदी व्यवसायी र सरोकारपक्ष हाम्रो भनेर लाग्न जरुरी रहेको छ । कागोसिडाकै माउ संगठनले पनि फेगोसिडा तालिम केन्द्र भनेर संचालन नगरेको होइन ,स्रोत साधन पनि जर्मन संस्थाबाट सहयोग प्राप्त गरेकै हो तर पनि उक्त तालिम केन्द्रलाई पूर्ण योजना र व्यवस्थित ढंगबाट संचालन गर्न नसक्दा जुनढंगबाट सदुपयोग गर्न पर्ने त्यो हुन सकेको छैन । तसर्थ यदि कागोसिडाले ल्याएको यो विद्यालयको अवधारणालाई पनि समग्र सुनचाँदी क्षेत्रको जगतको हितमा उपयोग नगरी जाने र सिमित व्यक्तिको मात्र खल्तीमा भयो भने फेगोसिडा तालिम केन्द्रकै हालतमा नजला भन्न सकिदैन । गुरुयोजना हेर्दा सुनचाँदी क्षेत्रमा नयाँ केही हुने संकेतहरु देखिन्छन् यद्यपी यसलाई सफल बनाउन चुनौति चाङहरु पनि उत्तिकै रहेको छ । यस विषयमा सुनचाँदी क्षेत्रका अग्रज,सरोकारपक्ष,विज्ञहरु सवैको सहयोग लिएर अघि बढेको खण्डमा कागोसिडाको सुनचाँदी विद्यालय जगतको लागि समेत उदाहरणीय नहोला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्