कोराना त्रासका कारण महासंघका सम्पूर्ण कार्यक्रम प्रभावित : प्रवक्ता साह

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले कोराना भाईरसबाट बच्न सरकारले गरेको निर्णयहरु परिपालना गर्नुपर्ने भएकाले महासंघ कार्यक्रमहरु पनि प्रभावित हुन सक्ने बताउनुभएको छ ।

आभूषण बजार पत्रिकासँग कुराकानी गर्र्दै प्रवक्ता साहले कोरानाको विरुद्ध एकजुट भएर लड्न सुनचाँदी व्यवसायिक क्षेत्रले समेत आ–आफ्नो ठाउँबाट सुरक्षा तयारी र सचेतना कार्यक्रम गर्नुपर्ने बताउनुभयो । सरकारले २५ जना भन्दा भेला नगर्न आग्रह गरेकाले महासंघको शनिवार बस्ने कार्यसमितिको वैठकबाट महासंघको तेस्रो अधिवेशन कहिले सार्ने भन्ने निर्णय समेत लिईने प्रवक्ता साहले बताउनुभयो । साथै उहाँले व्यवसायीहरुलाई कोरानाबाट बच्नको लागि पूर्व तयारी अनुरुप पसलमा सुरक्षाका सवै उपाय अवलम्बन समेत गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । साथै व्यवसायीहरुमा संवाद नटुटोस भन्नको लागि टेलिफोन, भिडियो मार्फत पदाधिकारीहरुलाई आ–आफ्ना कुरा सेयर गर्न र राख्न समेत साहले अनुरोध गर्नुभएको छ ।

यसैबीच सुनको मूल्य ओरालो लाग्न थालेपछि व्यापारमा केही राहत मिलेको साहले बताउनुभएको छ । आभूषण बजार पत्रिकासँग कुराकानी गर्नुहुँदै प्रवक्ता साहले विगत केही समय उता भाउको उच्चवृद्धिले ग्राहकहरु गहना खरिद गर्न रुची नदेखाइरहेको अवस्थामा विहिवार एकाएक तोलामा फेरी १५ सयले भाउ घटेपछि सिजनमा व्यापारमा हुनेमा आशा जागेको बताउनुभयो । बुधवार सुन तोलामा दुई हजार घटेर ७६ हजार ५ सय मूल्य कायम भएको थियो । विहिवार १५ सयले घटेर तोलाको ७५ हजार मूल्य कायम भएको छ । तेजावी सुन ७४ हजार ७ सय मा कारोवार भइरहेको छ । चाँदीको भाउ पनि तोलाको ६८० मा निर्धारण गरिएको छ । कोराना भाईरसको कारणले गर्दा आर्थिक मन्दी आएपछि सुन विक्री गर्ने क्रम बढेसँगै सुनको मूल्य घटेको नेपाल सुनचाँदी महासंघका प्रवक्ता मनोजकुमार साहले बताउनुभयो । सुन विक्री गरेर शेयर खरिद र कर्जा तिर्नको लागि मानिसहरु लागेकाले पनि सुनको मूल्यमा गिरावट आएको साहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्