लामो लकडाउनले सुनचाँदी व्यवसाय चिन्तित

काठमाडौं । सरकारले कोराना भाईरस विरुद्ध लड्न लकडाउन घोषणा गरेको एक महिना वितिसकेको छ । लामो लकडाउनका कारण देशभरका सुनचाँदी व्यवसायीहरु सुनचाँदी व्यवसायको आगामी भविष्यलाई लिएर चिन्तित हुन थालेका छन् । एक महिना देखि पसल,कारखाना बन्द देखि सवै ठप्प हुँदा सुनचाँदी व्यवसाय आगामी दिन कसरी अघि बढ्छ भन्नेमा चिन्ता उत्पन्न भएको हो । यतिबेला विभिन्न जिल्लामा सुनचाँदी व्यवसायी तथा कालिगढहरु आफ्नै घरमा रहेका छन् भने कतिपय कालिगढहरु लकडाउनको कारण आफ्नो गन्तव्य घरमा जान नपाएर थुनिएर बसेका छन् । सुनका गहना बनाउने कारखानाहरु बन्द हुँदा कालिगढहरु बेरोजगार बनेर हात बाधेर बस्नु परेको छ भने अव कसरी जिवनयापन गर्ने भन्ने विषयमा चिन्ता प्रकट भएको उनीहरुले बताउन थालेका छन् । दैनिक कालिगढी गरेर जीवनयापन गर्दै आएका कालिगढ र तीनको परिवारको जीवनरक्षाको लागि राहत कार्यक्रम ल्याउनुपर्ने कालिगढ अगुवाहरुको माग रहेको छ ।

सुनचाँदी पसल ठप्प हुँदा बैंकको व्याज तिर्न नसकिने भएकाले सरकारले सुनचाँदी व्यवसायलाई जोगाउन सम्पूर्ण व्याजको किस्तामा उत्पन्न हुने समस्या देखि राजश्व मिनाहा गर्नुपर्ने व्यवसायीहरुको माग रहेको  छ । तराईका व्यवसायीहरु समेत कोराना भाईरसको उच्च जोखिममा रहेको र व्यवसायको भविष्यलाई लिएर चिन्तामा रहेका छन् । लकडाउनको अवस्थामा व्यवसायीहरु सामाजिक दुरी कायम गरेर व्यवसायलाई आगामी दिनमा कसरी उभ्याउने भन्ने विषयमा बेला बखत कुरा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एंवम प्रदेश २ का संयोजक शिवकुमार सर्राफले बताउनुभयो ।

कतिपय सुनचाँदी व्यवसायीहरु भने राहत कार्यक्रममा जुटेर समाजसेवाका कार्य गरिरहेका छन् । सुनचाँदी व्यवसाय र यसको भविष्यलाई आगामी दिनमा कसरी टिकाउने भन्नेमा सरोकार क्षेत्रले वहस र छलफल गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्