ताल्छिखेलमा पसलेलाई छक्काएर गहना चोरी

ललितपुर । ललितपुरको ताल्छीखेल स्थित जय माँ दुर्गा जेम्स एण्ड ज्वेलरीमा ग्राहक बनेर आई नक्कली नोट दिएर सुनको गहनाको चोरी भएको छ । विहिवार विहान १० बजेकै आसपास उक्त ज्वलेर्समा दुई जना चोरको गिरोहले नक्कली नोट दिई छक्काएर साढे ३ तोलाको रानीहार,८० लालको तिलहरी र ५० लालको औंठी लिएर फरार भएका छन् ।  प्रहरीले पसलबाट ४ लाख ६५ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । उक्त नक्कली नोटलाई ५ ओटा हजारको नोटले छोपेर ५ वटा वण्डल बनाइएको बताइएको छ ।

विश्वकर्मा पुजाको दिन विहानै निलो स्कुटीमा ग्राहक बनी आएका दुई जनाले गहना किन्नु छ भन्दैं आएपछि पसलका संचालक डम्बरबहादुर वि.क रिजालले ग्राहक ठानेर उनीहरुलाई गहना देखाएका थिए । गहना नापतौल गरेपछि ग्राहकको भेषमा आएका चोरहरुले ४ लाख ६५ हजारको फरक फरक बन्डल निकालेका थिए । गहना प्याक गरेर विल लेख्दै गर्दा दुई जना फरार भएको संचालकलाई उदृत गर्दै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका महासचिव खेम तिरुवाले बताउनुभयो । नक्कली पैसाको माथिल्लो भागमा ५ हजार सक्कली नोट राखेर नक्कली नोटलाई उनीहरुले वेरेको पाइएको छ ।

सुन पसलका सञ्चालक डम्बरबहादुर रिजालका अनुसार सुन किन्न आएका गिरोहले पैसा दिएर तिलहरी, रानीहार, औंठीलगायत गहना खरिद गरेका थिए । उनीहरुले १ र १ लाखको पाँचवटा बण्डल दिएका थिए ।

पैसाको बण्डलको अगाडि र पछाडि सक्कली नोट भएपनि बीचमा नक्कली नोट राखिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले बताउनुभयो ।

‘१७ मिनेटमा काम सकेर पसलबाट बाहिरिका थिए,’ पसल सञ्चालकले रिजालले भने, ‘बिल बनाउँदै गर्दा सुन किन्न आएका उनीहरु एकाएक फरार भए ।’पैसा राम्रोसँग नहेरी बिल बनाउन थालेको बेला सुन किन्न भनेर आएका उनीहरु भागेको रिजालले प्रहरीसमक्ष बताएका छन् । फरार उनीहरुको खोजीकार्य भइरहेको ललितपुर परिसरका डीएसपी सन्तोष तामाङले बताउनुभयो । बिल बनाउँदै गर्दा एकाएक फरार भएपछि सञ्चालक रिजालले प्रहरीलाई सूचना दिएका थिए । प्रहरी घटनास्थलमा पुगेर सीसीटिभी फुटेज हेरेको थियो । सीसीटिभी फुटेजमा हेल्मेट लगाएका २ जना निलो रंगको स्कुटी चढेर भागेका छन् ।

प्रतिक्रिया दिनुहोस्