सुनको कालोबजारीलाई अव फिल्ड पुगेरै ठेगान लगाउछौं ः अध्यक्ष विसी

काठमाडौं,साउन । माओवादी केन्द्र निकट नवगठित नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघका अध्यक्ष दिपक विसीले सुनको कालोबजारी गर्ने र बजारमा वेथिती निम्ताउनेलाई फिल्डमै गएर ठेगान लगाउने बताउनुभएको छ ।

संघको दर्ता प्रक्रिया थप पुरा गरिसकेपछि आफुहरु बजारमा देखिएको विकृती हटाउन फिल्डमै खटिने उहाँको भनाई छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिवार संघको १७ सदस्यीय कार्यसमिति बनाएसँगै आभूषण बजार पत्रिकासँग कुराकानी गर्नुहुँदै अध्यक्ष विसीले सुनचाँदी व्यवसायिक संगठनका महासंघ र संघहरु सिमित स्वार्थ भएका झुण्ड भएकाले आम व्यवसाय क्षेत्रको समस्या र पिडा झन बढेकाले आफुहरुले राजनीतिकरुपमा सुनचाँदीको संगठन खोल्नुपरेको बताउनुभयो । माओवादी केन्द्रकै नीति नियम अन्तरगत रहेर आफुहरुले संगठन संचालन गर्ने र अन्य राजनीतिक दललाई पनि यस्तै प्रकृतिको संगठन खोल्न अधिकार समेत हुने विसीले बताउनुभयो ।

समितिको उपाध्यक्षमा बुद्धि विश्वकर्मा,महासचिव नवराज विश्वकर्मा,सचिव सुमन सुनार,सदस्यहरु रमेश विश्वकर्मा,गणेश विश्वकर्मा,राजन विश्वकर्मा,शम्भु बराईली,विजयी घतानी,राजेन्द्र विश्वकर्मा,सन्तोष विश्वकर्मा,सन्तोष रामदाम,सरण लामिछाने,भोजमान सेन्चुरी र कुमार लामिछाने रहुनभएको छ ।

पेरिडाडामा आयोजित कार्यक्रममा प्रमुख अतिथी माओवादी केन्द्रका नेता हिमाल शर्मा,अतिथीहरु इश्वरी पाण्डे,मिना लामा लगायत हुनुुहुन्थ्यो । आभूषण बजार पत्रिकासँग प्रतिक्रिया दिनुहुँदै अध्यक्ष विसीले महासंघमा रहेर किलो किलो सुन उठाएर देश विदेश पसल खोल्ने काम भएको भन्दै यसले बजारमा सुनको अभाव हुनुको साथै यहाँका साना व्यवसायीहरुले गरी खाने वातावरण नबनेको बताउनुभयो ।

आम व्यवसायी तथा कालिगढको हितको लागि तल्लो तहसम्म पुगेर संगठन बनाएर आफुहरु अघि बढ्न लागेको विसीको भनाई छ । लोकतन्त्रमा अधिकारको लागि संगठन बनाउनु जो कसैलाई पनि छुट भएको भन्दैं राजनीतिकरुपमा संगठन बनाउनुपर्ने आवश्यकता बैंक, महासंघ र संघहरुले भित्राएको सिण्डीकेटको अन्त्य र आम व्यवसायीको हितमा रहेको बताउनुभयो । अध्यक्ष विसीले महासंघ दुई चार जना स्वार्थ समुहको घेरामा रहेको र त्यो भन्दा माथि उठ्न नसकेकाले बजारमा अहिले कालोबजारी लगायतका विकृति भित्रीएको उहाँको भनाई छ ।

सुनको कोटाको लागि कालान्तरमा तपाईहरु पनि विक्नुहुन्छ कि भन्ने प्रश्नमा अध्यक्ष विसीले व्यवसायीको हकहित स्थापाना,सुनचाँदीको नीति निर्माण लगायतका पाटो समाधानको लागि आफुहरु सक्रियरुपमा लाग्ने बताउनुभयो । व्यक्तिगत स्वार्थ हैन पार्टीको नीति नियममा रहेर आम व्यवसायी तथा कालिगढको हितमा लाग्ने विसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्