संघले एक्सन लिएसँगै चितवनमा सुन कालोबजारीको भागभाग,अव विल सहित सुन पाईने

नारायणगढ,साउन । विहिवार साँझ नारायणगढ मिलनरोड आसपासमा रिफाईनरी साहँु बेच्न ल्याएको  १ लाल सुनको पैसा पाँचसय र अरु सय–सयको चारवटा नोट हातमा पानी लगाएर गन्दैं गरेर कालिगढलाई दिदैं गरेको भेटिए । मलिनो अनुहारमा उनको खासै उज्यालोपन देखिएन । अरु बेला टेबुलमुनीबाट सुन काट्दै,काटामा जोख्दै बढी मूल्यमा बेच्ने बम्बईवालाहरुको अहिले हालत सवैभन्दा खराब बनेको छ । अनुहार फुँग खरानी उडेको जस्तो बनेको छ । नारायणगढको कुनाकाप्चामा रहेका बम्बईवालाहरु अहिले कसैले सुन छ भनेर सोध्यो भने स्वासै सासले बोल्ने गर्दछन् र भन्ने गर्दछन् अहिले कोही साँहुले पनि सुन दिएको छैन दाजु खै के के निर्णय ग¥यो रे संघले । यत्तिकैमा बम्बईवालासँग सुन किन्न भनेर आएका अर्का एक सानो पसले भने सुन नपाएपछि झोक्किदै भन्दैं थिए संघवालाको चुरीफुरी कतिदिन हो सिजन आएपछि ब्ल्याक भएन भने म  लेखेर दिन्छु भन्दै थिए ।

साच्चै भन्नुपर्दा  चितवन सुनचाँदी व्यवसायी संघले संघ भित्र वा वाहिरका जो कसैले पनि बढी मूल्यमा सुन बेचेर कालोबजारी गरेको पाइएमा संघबाट निस्कासित गर्ने मात्र होइन प्रशासनमा समेत कारवाहीको लागि सिफारिस गर्ने संस्थागत निर्णय गरेपछि कालोबजारीयाको यतिबेला भागाभाग हुन सुरु गरेको छ । इतिहाँसमै पहिलोपटक कालोबजारी विरुद्ध अदम्य साहस र दरिलो मुटु बनाएर संघका चितवन अध्यक्ष टेकबहादुर विश्वकर्मा र प्रवक्ता विकास बर्मा लगायत सवै टिम कडारुपमा प्रस्तुत भएपछि कालोबजारीयाहरु अहिले कोही छतबाट कोही वार्दलीबाट हाम्फालेर भागदौड मच्चिन सुरु गरेको छ ।

सुनको कालोबजारीले साना व्यवसायी आक्रान्त बनेको र बजार निकै प्रदुषित हुन थालेपछि चितवन सुनचाँदी व्यवसायी संघको साउन १२ गतेको बैठकले निर्णय गरेरनै कालोबजारी विरुद्ध संस्थागतरुपमा कडारुपमा प्रस्तुत भएको  थियो । संघको निर्णयसँगै यतिबेला बजारमा प्रभाव देखिन थालेको छ । बजारमा अहिले बढी मूल्य हालेर सुन कारोवार हुने कार्य रोकिएको देखिन्छ । संघले कालोबजारी रोक्न कडा कदम चाले रोकिदो रहेछ भने चितवनमा गरेको निर्णय पुष्टी भएको छ । यसलाई आगामी दिनमा सुनको माग र आपूर्तिलाई व्यवस्थापन गर्न सकिएको खण्डमा चितवनबाट कालोबजारी भाग्न सक्ने ठूलो सम्भावाना देखिएको छ ।

आफ्नो आफ्नो गुट बनाएर ऐजेन्ट खडा गरी सुनको कृत्रिम अभाव सिर्जना गर्दा चितवनमा कालोबजारीयाले चलखेल गर्न पाएका थिए । संघलेनै चलखेल गर्न प्रतिवन्ध लगाएपछि कालोबजारी रोकिएको हो । आभूषण बजार पत्रिकासँग कुराकानी गर्दै संघका अध्यक्ष टेकबहादुर विश्वकर्माले भन्नुभयो “चितवनमा ग्राहकले ल्याउने पुराना सुन र महासंघबाट आउने सुनलाई सही ढंगबाट व्यवस्थापन गर्न सकिएको खण्डमा आपूर्ति सहज हुन सक्ने देखिन्छ । विश्वकर्माले भन्नुभयो अव संघबाट सुन वितरण गर्दा पनि साना व्यवसायीहरुलाई विल सहित दिने तयारी गर्दैर्छौ । नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेशका उपसभापति समेत रहनुभएका विश्वकर्मा व्यवसायिक क्षेत्रमा अध्ययनमा समेत पिएचडीको तयारी गर्दै गर्नुभएका एक अध्ययनशिल र स्वच्छ छवीको व्यक्तित्वको रुपमा समेत चिनीनुहुन्छ । कालोबजारी विरुद्ध संस्थागत निर्णय गर्दा पनि केही व्यवसायीबाट दबाब आएपनि बजारमा देखिएको प्रदुषण र वेथितीविरुद्ध आफ्नो नैतिकताले टुलुटुलु हेरर बस्न नदिएको अध्यक्ष विश्वकर्मा बताउनुहुन्छ । कालोबजारी हटाउने कार्य दिर्घकालिनरुपमा व्यवसायलाईनै बचाउने आधार भएकाले सवैको साथ सहयोग रहने उहाँले विश्वास गर्नुभयो । सुरुमा केही अप्ठ्यारो होला तर सवै इमान्दार बनौं चितवनबाट कालोबजारी पूर्णरुपमा हट्नेछ र अन्य जिल्लाले पनि हाम्रो सिको गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कालोबजारी विरुद्धको चितवनको हिम्मत भने आफ्नो छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ भन्दा पनि एक कदम अघि रहेको छ ।

महासंघकै केही लोभीपापी पदाधिकारीहरु कालोबजारीयालाई मलजल गर्न लागिपरेको भन्ने आरोप लागिरहेको अवस्थामा टेकबहादुर विश्वकर्माको नेतृत्वले गरेको यो कार्य प्रशंनिय मात्र होइन ऐतिहाँसीक बनेको छ । साच्चै भन्नुपर्दा यो साहसलाई कालोबजारी विरुद्ध चितवन सुनचाँदी व्यवसाय संघ टेकबहादुर नेतृत्वको विद्रोहनै भनेर बुझ्दा उपयुक्त हुन्छ ।

अध्यक्ष टेकबहादुर विश्वकर्माको साहस र प्रवक्ता विकास बर्माबाट हस्ताक्षरित कालोबजारी विरुद्धको चितवन सुनचाँदी व्यवसायी संघको संस्थागत निर्णयले सुनचाँदी बजारमा नयाँ हलचल ल्याएको छ । महासंघ र संघ भित्रका स्वार्थी समुहको टाउको दुखेको मात्र छैन भागभाग हुन थालेको छ । यो अभियानलाई थप योजनाबद्ध हिसावबाट लान सके चितवनबाट मात्र होइन ७७ वटै जिल्ला कालोबजारीयाको सखाप हुनेछ । संघले कडा कदम चाले सुनको कालोबजारी रोकिने कुरा चितवनको घटनाबाट पनि प्रमाणित भएको छ तसर्थ कालोबजारी रोक्न संघकोनै इच्छाशक्ति र निर्णय सवै जिल्लामा टड्कारो आवश्यकता देखिएको छ । अव अरु जिल्लाले पनि निर्णय गर्न ढिला गरे उनीहरुमा समेत नैतिक प्रश्न आउने र चितवनको निर्णयले उनीहरुलाई कुरी कुरी गरेर गिज्जाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्