सर्लाहीका सुनचाँदी पसल ठप्प,महासंघ विरुद्ध आन्दोलन,दिए अल्टिमेटम

सर्लाही,साउन । सर्लाहीका सुनचाँदी व्यवसायीहरुले आज पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।

सुनको सिफारिस रोकेको,कालोबजारीका कारण पसल चलाउन नसक्ने अवस्था भएको भन्दैं आफ्नै छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ विरुद्ध सर्लाही सुनचाँदी व्यवसायी संघ पसल बन्द गरी आन्दोलनमा उत्रिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलाई जिल्लाका व्यवसायीहरुको सुन के कति मात्र आइरहेको र कुन आधारमा आउने गरेको भनेर पत्र पठाएर सुचनाको हक अनुसार जानकारी माग गर्दा पनि हालसम्म कुनै जवाफ नआएकाले महासंघ मार्फतनै व्यवसायीहरु पिडामा परेको भन्दैं आन्दोलनका कार्यक्रम घोषणा गरिएको सर्लाही सुनचाँदी व्यवसायी संघका महासचिव कमलेश साहले बताउनुभयो  ।

सर्लाहीको सुन के कसरी र कुन आधारमा रोकिएको हो यस विषयमा महासंघले सम्पूर्ण जानकारी र सर्लाहीले पाउने सुनको वारेमा प्रष्ट नपारेसम्म चरणवद्ध आन्दोलनमा उत्रिने संघका अध्यक्ष महेन्द्र साह सोनारले बताउनुभयो । सर्लाहीका सुनचाँदी पसल ठप्प भएपछि कालिगढ तथा व्यवसायीहरु प्रभावित भएका छन् । कोरानाको कारण व्यवसायमा समस्या त छनै झनै कच्चा पदार्थ नपाउने भएपछि व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको संघका उपाध्यक्ष दिनेशप्रसाद साहले बताउनुभयो । व्यवसायी तथा कालिगढहरु चोक चोकमा पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन् । यसैबीच महासंघले २४ घण्टा भित्र आफुहरुको माग सम्बोधन नगरे सिडियो कार्यालय हुँदै केन्द्रिय कार्यालय घेराउसम्मको विरोध कार्यक्रममा उत्रने संघका महासचिव कमलेश साहले बताउनुभयो । सुनको अभाव भएपछि सर्लाहीका साना सुनचाँदी पसलहरु धारासायी हुने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्