सुनचाँदी भैरहवाको अधिवेशनमा गृहमन्त्रीको गुनासो,महासंघ नेतृत्व फर्केर आएनन्

भैरहवा,भाद्र । गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी महासंघहरुलाई व्यवसायीहरुलाई परेको समस्यालाई लिएर सक्रिय भएर आए समस्या समाधान गर्न आफुले पहल गर्ने बताउनुभएको छ ।

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ भैरहवाको प्रथम अधिवेशन तथा साधारणसभामा बोल्नुहुँदै गृहमन्त्री खाँणले दुईजना आईजिपी,गृह सचिव राखेर नेपाल सुनचाँदी व्यवसायी महासंघ र रत्न आभूषण महासंघसँग व्यवसायीको शान्ति सुरक्षा र नीति नियम बनाउने सवालमा भूमिका खेल्न अहिलेसम्मकै हाईकमाण्डको वैठक राखेता पनि त्यसपछि महासंघको नेतृत्वहरु समन्वयको लागि फेरी फर्केर नआएको मन्त्री खाँणले दुखेसो गर्नुभयो । सुनचाँदीको कारोवार निर्देशिका,नियमावली बनाउनको लागि पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले भूमिका खेलेता पनि त्यो पनि अहिले यथावत रहेको अवस्थामा फेरी यसलाई अघि बढाउन महासंघ नेतृत्वलाई सक्रिय बनेर आउन उहाँले संघको अधिवेशन मार्फत आग्रह गर्नुभयो । साथै उहाँले सुनचाँदीको क्षेत्रले रोजगारी सिर्जना गर्न सक्ने, कलासिपको प्रर्वद्धन गर्ने भएकाले आफुले यसलाई कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बताउनुभयो ।

कार्यक्रममा पिडित सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक रेशम लाम्गादेले गृहमन्त्रीलाई साना व्यवसायी तथा कालिगढहरुलाई परेको समस्याको विषयमा ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्र पढ्दै गृहमन्त्री खाँणले विषय संवेदनशिल भएकाले मन्त्रालयमा आएर छलफल गरेर सुनको कालोबजारी र सिण्डिकेट हटाउन आफुले सहयोग गर्ने बताउनुभयो ।

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणी रामदामको सभापतित्वमा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व उपाध्यक्ष प्रेमकुमार सेन्चुरी,केन्द्रिय सदस्यहरु जोगलाल विश्वकर्मा लगायतले सुनचाँदीको अभाव र नीति नियम नहुँदा व्यवसायमा समस्या परेको बताएका थिए । सोही अवसरमा बोल्नुहुँदै महासंघका केन्द्रिय सदस्य दिपक विश्वकर्माले काठमाडौं र मोफसलमा गरिने असमानरुपको सुन वितरण प्रणालीलाई सच्चाउन कानुनी उपचारको लागि जाने आफुहरुले निर्णय गरेको बताउनुभयो । कार्यक्रम संघका महासचिव किस्मत रामदाम विश्वकर्माले  संचालन गर्नुभएको थियो ।

अधिवेशनले शतिसकुमार कौशल दिपकको अध्यक्षतामा २ जना थप हुने गरी २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ  ।

नयाँ सर्वसम्मत हुने संघको  वरिष्ठ उपाध्यक्षमा राजन विश्वकर्मा,उपाध्यक्षमा किस्मत विश्वकर्मा,द्धितिय उपाध्यक्षमा प्रेम रामदाम,महासचिवमा सुनिल सेन्चुरी,कोषाध्यक्षमा धुव्र लाम्गादे,सचिव मिलन रामदाम,सह  सचिव गणेश विक,सहकोषाध्यक्ष किरण लाम्गादे, सदस्यहरुमा मोहन सेन्चुरी,प्रशान्त रामदाम,किरण रामदाम,अमन लाम्गादे,दिपेन लाम्गादे,सुमित लाम्गादे,गणेश रसाईली,विनोद रसाईली,सुरज सोनी,राधेश्याम सुनार,बलराम सुनार रहनुभएको छ । सो अवसरमा सुनचाँदी क्षेत्रमा योगदान पुराएका वशिष्ट व्यक्ति र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्