महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा

काठमाडौं,असोज । सुनचाँदी व्यवसायीहरुको सवैभन्दा ठूलो संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघको तेस्रो महाधिवेशनपछि एक पटक पनि पूर्ण वैठक बस्न सकेको छैन ।

अध्यक्ष माणिकरत्न शाक्यलाई वारम्वार वैठक बोलाउन दबाब दिएता पनि कुनै चासो नदिएको महासंघका केही पदाधिकारीहरुले बताएका छन् । अध्यक्ष शाक्यले सुनचाँदी क्षेत्रमा गर्नुपर्ने कामलाई मध्यनजर गरेर बनाइएका समितिका संयोजक देखि सदस्य निर्माण गर्नुपर्ने भएता पनि यसमा कुनै चासो नदिएको असन्तुष्ट पदाधिकारीको भनाई छ । कालोबजारीले व्यवसाय तहसनहस भइरहेको छ,जिल्ला जिल्लाबाट महासंघ माथि सुन वितरण र एशोसियट सदस्यमाथि अनियमियतता गरेको संघीन आरोप लागेर पत्र आउन थालेपनि  यसलाई चिर्न पनि महासंघको वैठक वस्नुपर्ने हो तर यसमा महासंघको नेतृत्वले  मुन्टो लुकाएर हिड्ने गरेको गुनासो बढेर गएको छ । पिडित सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिनै बनेर भएको आन्दोलन झन अघि बढेको छ यसलाई हल गर्न कुनै चासो दिइएको छैन ।

२१ महिना वित्दा पनि पूर्ण वैठक आहवान गर्न नसक्नु यो जस्तो निर्लज्ज केही नभएको महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । महासंघ भित्रको गुटबन्दी र सुन सिफारिसमा देखिएको छिनाझपटीले अत्यन्त दुःख लागेको संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताउनुभयो । पुराना सुनबाट काम चलाउने गरौं हाम्रो पसल बन्द हुँदैन तर महासंघले एक महिना सुन नउठाएर राज्यलाई दबाब दिने साहस नेतृत्वले नगरे सुनचाँदी क्षेत्रको समस्या अझ भयावह हुने संस्थापक अध्यक्ष शाक्यले बताउनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले महासंघमाथि जिल्ला संघहरुलेनै प्रश्न उठाएपछि अव विशेष भेला राखेर अगाडि बढ्न सक्नुपर्ने बताउनुभयो । धेरै व्यवसायीहरुले प्रश्न उठाउन थालेपछि विशेष भेला राख्न सक्नुपर्ने शाक्यको भनाई छ ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको वैठकले समेत पत्र सार्वजनिक गर्दै व्यवसायीहरुको भयावह समस्यालाई लिएर महासंघमा डेलिगेशन जाने निर्णय गरेको छ । रामकिशन विश्वकर्माद्धारा हस्ताक्षरित पत्रमा महासंघ भित्र सुनको अपारदर्शी वितरण र महासंघका एशोसियट सदस्यहरुबाट सुनमा अनियमितता गरेको उल्लेख गरिएको छ ।

यसैगरी काठमाडौं सुनचाँदी व्यवसायी संघले समेत महासंघमा सुनको चरम अभावका कारण समस्या भएको भन्दैं ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउदा महासंघ भित्रका जिम्मेवार पदाधिकारीहरु उपस्थिती नहुँदा निकै दुर्भाग्य र कंलकको अवस्था भएको जनाएको छ ।

अहिले बजारमा चाडवाडको मौका छोपी ४ हजार देखि ४५ सय  सम्म बढीमा काँचो सुनको किनवेच भइरहदा व्यवसायनै धरासयी अवस्थामा पुगेको छ । यता महासंघले पनि पँहुचवाला पदाधिकारीहरु,एशोसियट सदस्य र कम्पनीहरुलाई खुरु खुरु सुनको सिफारिस प्रदान गरिरहेको छ । सुन कहाँ कति गयो महासंघको नेतृत्वले सुन सिफारिसको विवरण सार्वजनिक गर्न नसक्नुले पँहुचको आधारमा सिण्डीकेट खडा गरेर वितरण गरिएको सुनको वितरण प्रणाली कसरी लुकाउने गरीन्छ भनेर नैतिकतामा प्रश्न चिन्ह उठेको छ ।

अध्यक्ष माणिकरत्न शाक्यको ३ वर्षे कार्यकाल वित्न लाग्दा पनि पूर्ण वैठक बस्न नसक्नु तर सुन सिफारिस गुपचुपमा खुरु खुरु हुनुले महासंघको नेतृत्व अहिलेको कालाबजारी लगायत व्यवसायीको जर्जर समस्यालाई  सुल्झाउनलाई भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्न लिप्त भएको गुनासो बढेको छ ।

महासंघको नेतृत्वनै व्यवसायीको समस्यामा मौन बसेपछि काठमाडौं लगायत जिल्ला जिल्लामा पिडित सुनचाँदी व्यवसायी तथा कालिगढ आक्रोशित बनेका छन् । पिडित व्यवसायी र कालिगढको आक्रोशीत भएपछि गल्ती गरेका महासंघको खराब नेतृत्व र पदाधिकारी अहिले मुख छोपेर लुकेर,भूमिगतरुपमा कार्यक्रममा सहभागी हुन थालेका छन् भने जिल्ला जिल्लामा जान डराएका छन् ।

प्रतिक्रिया दिनुहोस्