क्विन्टल वढी सुन बरामद, दुई हजार केजी बजारमा पुगेको आंशका, कसरी पुग्यो प्रहरी ?

क्विन्टल वढी सुन बरामद

साउन । प्रहरी र राजश्व अनुसन्धानले सुन तस्करीको घटनामा अनुसन्धानको दायरालाई साघुरो बनाउँदै लान थालेको छ । तस्करीको सुन टन्ज र पुटवालाबाट सुन पसलसम्म जाने थाहा पाउन थालेपछि प्रहरीले पछिल्लो केही महिनायता एयरपोर्टबाट सुन ओसार्ने भरियाहरुलाई समातेर अनुसन्धानको दायरा साघुरो बनाएको थियो ।
सुनमा कालोबजारी बढेपछि झन प्रहरीले राज्यबाट दिइने सुन र तस्करी हुने सुनलाई दुवैकोणबाट अनुसन्धान अघि बढाएको थियो । अहिले महासंघहरुले बजारमा अवैधानिक सुन आउने र फस्न सक्ने भन्दैं सचेत गराईरहेको छ । यता भन्सार बढे देखि सरकारबाट आउने दैनिक १० केजी सुन पनि बैंकबाट नउठेको व्यवसायीहरुले बताउँदै आइरहेका छन् । पछिल्लो दुई महिनामा यहि सुन वरामद समुहले २ हजार किलो सुन बजारमा फैलाएको या भारत तर्फ पुरायो भन्नेमा ठूलो प्रश्न उठेको छ । यदि यो समुहले आंशका गरेको दुई हजार किलो सुन नेपाली बजारमा फैलाएको भए धेरै सुन पसलेहरु अनुसन्धानमा तानिने र कारवाही पर्न सक्ने अवस्था देखिएको छ ।
कसरी चल्यो अप्रेशन ?
बुधबार राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गर्यो । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन बरामद भएपछि सुन तस्करीको नयाँ शैली खुलेको छ ।

करिब एक अर्ब रुपैयाँ मूल्य बराबरको सुन रेडी ट्रेड प्राइभेट लिमिटेडले स्कुटरको ब्रेक शुभित्र राखेर ल्याएको पाइएको हो । विभागको विशेष टिमले रेडी ट्रेडका सञ्चालक दिलिप भुजेल र अन्य दुई जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक–पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो ।

यसले यसअघि पनि अहिलेकै शैलीमा सुन तस्करी त भएको थिएन ? भन्ने आशंका जन्माएको अधिकारीहरुको भनाइ छ । अनुसन्धान अधिकृतहरुका अनुसार अब त्यो कोणबाट पनि अनुसन्धान हुनेछ ।
‘यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’
कसरी भित्रियो थियो सुन ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको हो ।

राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ’, उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।
हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।

भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारबाट कटेको सुन समातिएकोबारे जानकारी नभएको बताए ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल अहिले विदामा छन् । उनको अनुपस्थितिमा भन्सारको जिम्मेवारी नारद गौतमले सम्हालेका छन् ।
यसभित्र रहेको ब्रेक शुभित्र सुन भेटिएको राजश्व अनुसन्धान विभागका अधिकारीहरु बताउँछन् ।

सुन तस्करीको फेरिएको शैली

२०७४ सालमा चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले यूएईबाट ९ माघ २०७४ मा ल्याएको ३३ किलो सुन हराएको थियो । खोजीका क्रममा भरिया सनम शाक्य मारिएपछि सुरु भएको अनुसन्धानपछि गम्भीर मोड लिएको थियो ।

त्यसक्रममा छानबिनका लागि गठन भएको उच्चस्तरीय समितिले गोरेको समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । यो प्रकरणका क्रममा प्रहरी अधिकारीहरु, भन्सार कर्मचारीदेखि तस्करीमा समूह ठूलो ¥याकेटविरूद्द मुद्दा चलेको थियो । त्यसयता नेपालमा सुन बरामद भएको थिएन ।

पछिल्लो पाँच वर्षयता सुन बरामदको दर ह्वात्तै घटेका बेला राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको हो ।

नेपाल प्रहरीले चलाएको सुनसम्बन्धी हरेक जसो अपरेशन विवादित बन्नु र सुराकीको रकम समेत घटेपछि यससम्बन्धी प्रहरी कारबाही ओझेलमा परेको थियो । योबीचमा गिरोहले पनि तस्करीको शैली फेरेको थियो । विभिन्न सामग्रीभित्र सुनको लेप लगाएर तस्करी हुने गरेको देखिएको थियो । अर्धठोस पदार्थ बनाएका ल्याइएका स–साना परिमाणका सुन बरामद भइरहेका थिए ।

८ पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा एक जना सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद गरेको थियो । यो नै विमानस्थलस्थित भन्सारले समातेको सबैभन्दा ठूलो परिमाणको सुन थियो । थप अनुसन्धानका लागि भन्सारले सुनसहित पक्राउ परेका सुडानी नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मा लगाएको थियो ।

पछि ७ फागुनदेखि तीन दिनसम्म भरातमा राजश्व अनुसन्धान विभागले चलाएको अपरेशन ‘गोल्डेन डाउन’मा पनि नेपाल हुँदै गएको १०१ किलो सुन बरामद भएको थियो । त्यसले नेपालबाट नयाँ शैलीबाट सुन तस्करी हुन थालेको संकेत दिएको थियो । यद्यपि, नेपालमा प्रहरीले अनुसन्धानका लागि सक्रियता देखाएको थिएन ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले यसमा अध्ययन गरेपनि उपलब्धि मिलेको थिएन । नेपालबाट गएको सुन भारतमा धमाधम बरामद हुन थालेपछि त्यहाँका राजश्व एवं सुरक्षा अधिकारीहरुले पनि चासो देखाउन थालेका थिए ।

भारतको राजस्व अनुसन्धान विभाग (डीआरआई) को आर्थिक वर्ष २०२१÷२२ को वार्षिक प्रतिवेदन अनुसार भारतमा पहिले हवाई मार्गबाट हुने सुन तस्करी उच्च थियो । तर, कानुन कार्यान्वयन गर्ने निकायको सतर्कताका कारण तस्करहरूले नयाँ शैली प्रयोग गरेर सुन तस्करी गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भिलेन्स बढेपछि स्थलमार्गबाट सुन आउन थालेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘उत्तरपूर्वी क्षेत्रमा रहेको बंगलादेश, नेपाल, म्यानमारबाट सुन आइरहेको छ ।’ त्यसमध्ये पनि नेपालबाट आउने सुनको परिमाण पछिल्लो समय बढिरहेको डीआरआईका अधिकारीहरुको निष्कर्ष थियो ।
‘सुनको माग सधैँ बढ्दो छ, जहिलेसम्म माग बढिरहन्छ, त्यसबेलासम्म सुन तस्करी रोकिन्न’, २०७५ सालमा सुन तस्करीबारे छानबिन गर्न गठिन उच्च स्तरीय समितिका सदस्य वसन्तबहादुर लामा भन्छन्, ‘तस्करीको शैली मात्र फेरिइरहने हो ।’

५ वर्षयता ह्वात्तै घटेको थियो सुन बरामद दर

पछिल्लो पाँच वर्षयता नेपालमा उल्लेख्य रुपमा सुन बरामद भएको थिएन । साढे ३३ किलो सुन प्रकरणपछि चलाइएको अपरेशनका कारण प्रहरीले सुन तस्करी रोकिएको दाबी गर्दै आएको थियो ।

तर, जानकारहरुका अनुसार विभिन्न कारणले प्रहरीको सक्रियतामा पनि कमी आउँदा सुन बरामद हुने क्रममा घटेको थियो ।
प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २०० किलो सुन बरामद गरेको प्रहरीले त्यसयता आव २०७५÷७६ मा ५१, आव २०७६÷७७ मा ३०, आव २०७७÷७८ मा ३२, आव २०७८÷७९ मा २३ र आव २०७९÷८० को फागुनसम्ममा ५ किलो गरी ५ वर्षमा जम्मा १४१ किलो सुन बरामद गरेको थियो ।
यसरी बरामद गरिएको सुन पनि ठूलो परिणाममा समातिएका होइनन् । विदेशबाट आउने श्रमिकले ल्याएको सुन समातिएका विवरणहरू हुन् ।
‘सूचनाविना सुन समातिँदैन, यसका लागि प्रहरीको लगानी र मिहिनेत उत्तिकै जरूरी हुन्छ’, नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीका भन्छन्, ‘सुन नसमातिनु भनेको तस्करी नै नहुनु भन्ने होइन, थिएन ।’

प्रतिक्रिया दिनुहोस्