सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्धारा मूख्यमन्त्रीलाई ध्यानाकर्षण

भैरहवामा भइरहेको श्रृंखलावद्ध चोरीको घटनालाई लिएर सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोख्रेललाई बुधवार ध्यानाकर्षण पत्र बुझाएको छ ।
साउन २३ गते भैरहवा वैंकरोड स्थित ए.आर.सुनचाँदी पसलमा दुई सय केजीको तिजौरीनै उठाएर चोरी भएपछि व्यवसायिक सुरक्षाको माग गर्दै व्यवसायीहरुले मूख्यमन्त्री पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । चोरी भएको पसल आर्मीको सेन्ट्रीबाट २० मिटर र प्रहरी विटबाट २०० मिटरको दुरीमा रहेता पनि सुरक्षा संवेदनशिल क्षेत्रभित्रै चोरी भएको भन्दैं व्यवसायीहरुले श्रृंखलाबद्धरुपमा भइरहेको यस किसिमको चोरीमा संलग्नहरुलाई छिटोभन्दा छिटो पक्राउ गरी पिडितलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् । उक्त पसलमा २५ लाख बरावरको धनमाल चोरी भएको व्यवसायीहरुले जानकारी गराएका छन् ।

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माको नेतृत्वमा गएको व्यवसायीहरुको टोलीले राज्यको अस्पष्ट नीतिका कारण सुनचाँदीको कारोवारमा व्यवसायीहरु हतोत्साहित हुनुपर्ने अवस्था भएको भन्दै स्थानीय सरकारले समेत यस विषयमा छुट्टै नीति नियम बनाएर व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । साथै व्यवसायीहरुले सिमा क्षेत्रमा हुने चोरी र लुटपाटलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रवन्ध गरिनुपर्ने माग गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्मन्त्री शंकर पोख्रेलले चोरीका सत्यतथ्य छिटो पत्ता लगाउन आफ्नो तर्फबाट सम्बन्धीत निकायलाई निर्देशन दिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा प्रवन्ध मिलाउन आवश्यक निर्देशन दिने उहाँको भनाई थियो ।
रुपन्देही सुनचाँदी व्यवसायी संघ र वुटवल सुनचाँदी व्यवसायी संघको समेत साथमा मूख्यमन्त्री पोख्रेललाई भेट गरी ध्यानाकर्षण बुझाइएको कार्यक्रममा ,प्रदेश सांसद सन्तोष पाण्डे, संघका जिल्ला अध्यक्ष एम.वि. विश्वकर्मा,बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपक विश्वकर्मा,सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष सतिषकुमार कौशल,सचिव किस्मत विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

भैरहवामा भइरहेको श्रृंखलाबद्ध चोरीको घटनाको विषयमा प्रदेश नम्बर ५को मन्त्रिपरिषदको वैठक र संसदमा समेत कुरा उठेको छ । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको लगातारको दबाब र विरोधका विच बल्ल सम्बन्धीत निकायमा व्यवसायिक सुरक्षाको विषय चर्कोरुपमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्