अस्ताए कालिगढहरुको ढुकढुकी श्याम रसाईली,देवघाटमा अन्येष्टी

पोखरामा रहेर सुनचाँदी कालिगढहरुको सिर्जना र सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका श्याम रसाईलीको ४७ वर्षको अल्पायुमै निधन भएको छ । केही समय अघि देखि पेटको प्याङक्रियाजको समस्याका कारण उपचार गराउँदै आइरहनुभएका रसाईलीको भदौ ८ गते आइतवार ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । रसाईलीको सोमवारनै जन्मस्थान चितवनको देवघाटमा अन्तिम श्रद्धाञ्जली दिदैं दाहासंस्कार गरिएको छ ।

को हुन श्याम रसाईली ?

सामान्य परिवारमा चितवन मधुपुरीमा २०२९ साल कार्तिक २ गते माता देउकली वि.क. र पिता पूर्णबहादुर वि.क.को कोखबाट श्याम रसाईलीको जन्म भएको थियो । मधुपुरीकै धुलोमाटोमा खेल्दै हुर्किनुभएका रसाईली सानै देखि तेजीलो दिमागको हुनुहुन्थ्यो । जिवनमा दुःखकष्टको उकाली ओराली गर्दै उहाँले २०५१ सालदेखिनै पोखरामा कालिगढकोरुपमा काम गर्दै आफ्नो सिपलाई निखारदै अघि बढनुभएको थियो । पोखरा मोहरीया टोलमा वि.स.२०६३ सालदेखि आफ्नो सिपलाई व्यवसायमा ढाल्दै गहना उत्पादन गर्ने कारखानाको विकास गरी व्यवसायिकरुपमा काम गर्दै आउनुभएको थियो । पोखरामा नेपाली मौलिक गहनाको विकास र प्रवद्र्धन गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । रसाईलीको कारखाना व्यवसायमा मात्र सिमित थिएन चितवन मधुपुरी लगायतका युवाहरुलाई सिप सिकाउने र आफ्नो खुट्टामा उभिन सिकाउने प्रमुख केन्द्रको रुपमा विकास भएको थियो । युवाहरुलाई सीप सिकाउन र सुनचाँदी कलाको प्रवद्र्धनमा उहाँले खेलेको भूमिका योगदान महत्वपूर्ण रहेको छ । विभिन्न सामाजिक संघ संस्थामा क्रियासिल रसाईली कालिगढहरुको हकहितमा आवाज उठाउने एक सशक्त युवा समेत हुनुहुन्थ्यो । सुनचाँदी व्यवसायीहरुको काठमाडौंमा भएको ऐतिहासिक आन्दोलनमा पोखराबाट उहाँले आन्दोलनको मोर्चामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

सानै देखि मधुपुरीको नवप्रभात युवा क्लव देखिनै सक्रियरुपमा सामाजिक कार्यमा अग्रसर रसाईली स्वर्णकार कल्याण समिति पोखराको सदस्य हुँदै उपाध्यक्ष र,अन्तिम अवस्था सम्म सल्लाहाकारको भूमिकामा रहनुभएको थियो । दलित आन्दोलनको क्षेत्रमा समेत निधन हुनुभएका रसाईलीको विशेष भूमिका रहेको  थियो । मेहेनेती,हक्की स्वभावका रसाईली कुनै पनि विषयमा तार्किक अभिव्यक्ती राख्न निकै क्षमतावान रहनुभएका उहाँका निकट मित्र तथा सहकर्मी भिम सेन्चुरीले आभूषण बजार पत्रिकालाई बताउनुभयो । आँखामा हाल्दा पनि नविझाउने सवैसँग मिलनसार स्वभावका उहाँको निधनले आफुहरुले सुनचाँदी व्यवसायिक आन्दोलनमा निकै क्षति वेहोर्नुपरेको सेन्चुरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्